सुधारको योजनासहित काम गर्न सचिवलाई मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल प्रदेशका प्रमुख सचिव एवं सचिवको बैठकमा निर्देशन दिँदै ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी समूहको आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् ।
शनिबार कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूसँग बसेको बैठकलाई सम्बोधन गर्दै उनले सुधारलाई व्यवहारमा रूपान्तरण गर्नसमेत आग्रह गरे । मुख्यमन्त्री कँडेलले अहिले जनताले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजता अपेक्षा गरेको बताउँदै उनले भने, ‘सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्ने छ ।’
कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्ने भन्दै उनले कागजपत्रमा मात्र नभइ व्यवहारमा पनि पारदर्शिता देखिनु पर्नेमा जोड दिए । ‘विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर काममा गति दिनुपर्नेछ,’ उनले भने । मुख्यमन्त्री कँडेलले हिजोका कमजोरी सुधारका उपाय खोज्नुपर्ने बताए । सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा हुनुपर्ने उनले उल्लेख गरे । वर्तमान संघीय सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, तालिम, भ्रमण, गोष्ठी र आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन सचिवले पहल गर्नुपर्ने उनको भनाइ थियो । प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्नसमेत मुख्यमन्त्री कँडेलले निर्देशन दिए । उनले सचिवहरूलाई सुधारका प्रस्ताव ल्याउन पनि आह्वान गरे ।

 

प्रकाशित मितिः   October 12, 2025 at 11:54 am 


  • प्रतिक्रिया दिनुहोस्