आज निजामती सेवा दिवस

काठमाडौं । निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । मुलुकको स्थायी सरकारका रूपमा रहेका सरकारी कर्मचारीले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा आज बिहान प्रभातफेरी र समारोहहरु आयोजना गरिएको छ । काठमाडौंमा आयोजना हुने समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट अघिल्लो वर्ष घोषणा गरिएको उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम छ । गत वर्ष घोषणा गरिएका उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई आज सम्मान गर्न लागिएको हो ।
उत्कृष्ट निजामती सेवा पुरस्कार १ लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि छनोट भएका कर्मचारीहरुले आगामी वर्षको निजामती सेवा दिवस मूल समारोहमा पुरस्कार तथा सम्मान पाउने छन् ।

प्रकाशित मितिः   September 7, 2025 at 7:41 am 


  • प्रतिक्रिया दिनुहोस्