‘रक्सी’ अप्रेसनमा प्रहरीले के–के भेटायो ?

सुर्खेत, ३१ भदौ ।
सुर्खेत प्रहरीले चाडपर्व लक्षित गरी अवैध घरेलु मदिरा नियन्त्रणका लागि अप्रेसन शुरु गरेको छ । कृष्णाष्टमीदेखि प्रहरीले घरेलु रक्सी अप्रेसन थालेको हो । चाडपर्वमा अवैध घरेलु मदिराको कारोबार अत्याधिक हुने र हिंसापनि त्यसैबेला बढी हुने हुँदा चाडपर्व लक्षित अप्रेसन थालिएको सुर्खेत प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेले बताए । अवैध घरेलु मदिराका कारण विगतमा घरेलु हिंसा, झैझगडा, गुण्डागर्दी र जघन्य अपराधसमेत भएको भन्दै उनले चाडपर्वमा यसपटकदेखि घरेलु मदिरा निसानामा राखिएको जानकारी दिए । ‘समाजमा सबैभन्दा बढी विवाद गराउने, झैझगडा हुने र दुर्घटना हुने भएका कारण हामीले अवैध मदिरालाई नियन्त्रण गर्ने अभियान थालेका हौं,’ उनले भने, ‘हाम्रो यो अभियानलाई सफल पार्न सबैबाट सहयोग पाउने अपेक्षा छ ।’
प्रहरीले वीरेन्द्रनगरका विभिन्न ठाउँहरुमा छापा मारी ३ सय ५० लिटर मदिरा, दुई हजार लिटर कच्चा पदार्थ र आठ सेट भाडा बरामद गरी नष्ट गरेको छ । बरामद गरेको घरेलु मदिरा पूर्ण रुपमा खान अयोग्य रहेको पाइएको छ ।

मदिरामा मोजा

घरेलु मदिरामा मोजाको प्रयोग भएको पाइएको छ । दसैँ र तिहारलाई मध्यनजर गर्दै अवैध मदिरा नियन्त्रण गर्ने अभियानको पहिलो दिन शनिबार नियन्त्रित मदिरा नष्ट गर्ने क्रममा यस्तो भेटिएको प्रहरीले जनाएको छ । मदिरा बनाउने कच्चा पदार्थमा मोजा, चप्पल, चुरा, कपडा, अन्य फोहोरहरू र खान अयोग्य हुने चिजहरूको प्रयोग भएको पाइएको हो ।
‘अत्यन्तै फोहोर चिज, जो कल्पनासम्म गर्न सकिँदैन, त्यस्ता वस्तुहरूको प्रयोग भएको पाईयो,’ एसपी रजौरेले भने, ‘अवैध मदिरा बनाउनेहरूले जनताको जीवनमाथि खेलवाड गरिरहेको यसबाट प्रष्ट हुन्छ ।’

फिल्टरमा रक्सी कारोबार

फिल्टरबाट अवैध घरेलु मदिराको कारोबार हुने गरेको रहस्य खुलेको छ । जिल्ला प्रहरीले छापा मारेपछि पानी शुद्धीकरण गर्ने फिल्टरमै मदिराको कारोबार हुने गरेको खुलेको हो । अवैध घरेलु मदिरा उत्पादन बढेको सूचनाका आधारमा प्रहरीले वीरेन्द्रनगरमा थालेको घरेलु मदिरा अप्रेसनमा व्यापारीहरूले फिल्टरमा लुकाएको फेला पारेको छ ।
वीरेन्द्रनगरका साना होटल तथा नास्ता पसलमा समेत घरेलु रक्सी कारोबार अत्याधिक हुने गरेको छ । होहल्ला, गुडागर्दी तथा आपराधिक गतिविधि घरेलु मदिराकै कारण बढी हुने भएकाले रोक्न अपरेसन थालिएको प्रहरीको भनाइ छ । पहिलो चरणमा अवैध रक्सी बनाउने सञ्चालकलाई चेतावनी दिने र दोस्रोपटक पनि भेटिए कानुनी कारबाही गर्ने प्रहरीले बताएको छ ।

प्रकाशित मितिः   September 16, 2018 at 2:57 pm 


  • प्रतिक्रिया दिनुहोस्