
सुर्खेतः कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयमा सुधार गरेको छ । सरकारले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्च करिब ५ प्रतिशतले बढाएको हो । सरकारले यो वर्ष विनियोजित बजेटको ६४ दशमलव ७६ प्रतिशत खर्च गरेको छ । गत आर्थिक वर्षमा ६० दशमलव ३४ प्रतिशत खर्च भएको थियो ।
कूल बजेट खर्चमा तुलनात्मक सुधार गरेपनि सरकारले लक्ष्यअनुसार खर्च भने गर्न सकेको छैन । कर्णाली सरकारले चालु आर्थिक वर्षमा ७५ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले यस वर्ष २० अर्ब ३५ करोड ९५ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । जसमध्ये पुँजीगततर्फ ५८ दशमलव ६३ प्रतिशत र चालुतर्फ ७५ दशमलव ५२ प्रतिशत बजेट कार्यान्वयन भएको छ । अपेक्षित रुपमा बजेट खर्च हुन नसकेपनि बजेट कार्यान्वयनमा क्रमिक सुधार हुँदै आएको सरकारले जनाएको छ । यस वर्ष पनि विकास बजेटको ठूलो हिस्सा भने असारमै खर्च भएको छ ।













कर्मसञ्चार । २०८२ असार २९ गते आइतवार