दृष्टिविहीन क्रिकेटमा शिखर मावि विजयी

वीरेन्द्रनगर, १६ भदौ ।
सुर्खेतमै पहिलो पटक आयोजना गरिएको दृष्टिविहीनहरुको क्रिकेट प्रतियोगितामा शिखर माध्यामिक विद्यालय विजयी भएको छ । प्रतियोगिताको उपविजेता वागेश्वरी माध्यामिक विद्यालय राकम भएको छ । शिखर मावि रामघाट ४१ रनले विजयी भएको हो ।

पाइनियर बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतको १५औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको दृष्टिविहीन क्रिकेट प्रतियोगितामा बिजेता रामघाटले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता राकमले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको संस्थाका युवा तथा खेलकुद उपसमितिका संयोजक रमेश तुलाधरले जानकारी दिए । प्रतियोगितामा दुई टिममा १८ जना खेलाडीको सहभागी थियो ।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले गर्दै फरक र विशेष क्षमता भएकाहरुका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताईन् । उनले फरक क्षमता भएकाहरुमा पनि विशिष्ट प्रतिभा हुने भएकोले सहकारीले प्रतिभा पहिचानका लागि प्रदेशमै पहिलो पटक दृष्टिविहीनहरुको क्रिकेट प्रतियोगिताको आयोजना गरेकोमा सह्राना प्रकट गरिन् ।

नेपाल नेत्रहीन संघ कर्णाली प्रदेश अध्यक्ष सुरेश खड्काले दृष्टिविहीनहरुको प्रतिभा उजागर गर्नुपर्नेमा जोड दिदैं सवैसंग सहयोगको अपिल गरे । संस्थाका अध्यक्ष भीम भण्डारीले सहकारीको १५औं स्थापना दिवसको अवसरमा रचनात्मक कार्य गर्न सफल भएको बताए । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, उपाध्यक्ष जनकबहादुर रावललगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः   September 1, 2018 at 5:32 pm 


  • प्रतिक्रिया दिनुहोस्