सुर्खेत, २७ साउन ।
पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा थप तीन वटा प्रहरी बिट स्थापना गरिने भएको छ । समाजमा शान्तिसुरक्षा कायम गर्न हाल प्रहरी पहुँच बाहिर रहेका वडामा प्रहरी बिट राख्न लागिएको हो ।
शनिबार ईलाका प्रहरी कार्यालय छिन्चुले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा नगरका तीन वटा वडामा बिट स्थापना गर्न लागेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरको वडा नम्बर १, २ र ३ मा तीन महिनाभित्रै प्रहरी विट निर्माण गरिनेछ । नगरवासीको सुरक्षामा प्रहरीबाट विगतमा भएका कमीकमजोरी सच्याउँदै आगामी दिनमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी पहूँच बाहिरका स्थानहरुमा विट निर्माण गर्न लागिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
‘स्रोत साधनको अभावले अहिले सबै ठाउँमा प्रहरीको पहुँच पुग्न सकेको छैन,’ प्रहरी निरीक्षक न्यौपानेले नगरवासीलाई भने, ‘आफ्नो गाउँ–ठाउँको सुरक्षाको लागि तपाइँहरु पनि लाग्नुस् । प्रहरीलाई सहयोग गर्नुस् ।’
कार्यक्रमका सहभागि नगरवासीहरुले प्रहरीको सेवा प्रभावकारी नभएकाले सेवालाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिएका थिए । घरेलु हिंसा, लागूऔषध, बलात्कार जस्ता घटनाहरुमा प्रहरीले निगरानी बढाउनुपर्ने नगरवासीको सुझाव छ । उक्त नागरिक सुनुवाईमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरी, स्थानीय तहका जनप्रतिनिधि, नगरवासी तथा सरोकारवाला निकायको सहभागिता थियो ।
प्रकाशित मितिः August 12, 2018 at 12:01 pm























कर्मसञ्चार । २०७५ साउन २७ गते आइतवार