
सुर्खेतः कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रमाधान रोजगार मेला सुरू भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको मेलाको शुक्रवार श्रममन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका छन् । नागरिकहरूको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो ।
मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने बताइएको छ । मन्त्री अर्यालले मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने अपेक्षा लिइएको बताए । उक्त मेलामा रोजगारीको खोजीमा रहेकाहरू रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउनेछन् । मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले श्रमाधान मेलाले श्रमिक र रोजगारदाताबीच सेतुको काम गर्ने विश्वास व्यक्त गरे ।
यस्तै, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाललगायतले मेला सफलताको शुभकामना मन्तव्य राखेका थिए । मेलामा उद्यम र रोजगारी सम्बन्धि स्टलहरू र विभिन्न शीर्षकमा कार्यशाला तथा संवाद ‘सेसन’ राखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा भएको मेला दुई दिनसम्म चल्नेछ । मन्त्रालयका उप–सचिव टिकाराम ढकालले कामको खोजीमा रहेका श्रमिक र रोजगारदाताबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए ।
प्रकाशित मितिः June 7, 2024 at 1:09 pm























कर्मसञ्चार । २०८१ जेष्ठ २५ गते शुक्रवार