कर्णालीमा सरकार विस्तारको तयारी

टुङ्गियो मन्त्रालयको भागबण्डा, मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सुर्खेतः
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ । सत्तारूढ दलहरूले मन्त्रालयको भागबण्डा टुंग्याएसँगै झन्डै दुई सातापछि सरकारलाई पूर्णता दिन लागिएको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कँडेलले एक्लै मन्त्रालय सम्हाल्दै आएका छन् । सरकार विस्तारबारे मंगलबार एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री कँडेल र माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माबीच छलफल भएको थियो । सोही छलफलको सहमतिअनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलको दाबी छ ।
एमालेले भने मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको हो । कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आठ वटा मन्त्रालय छन् । यी दुवै सत्ता साझेदार दलबाट मन्त्रीमा को जाने भन्नेबारे टुङ्गो लागेको छैन । सरकार विस्तार लगत्तै मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । उनले मंगलबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव दर्ता गराइसकेका छन् ।

प्रकाशित मितिः   April 24, 2024 at 11:38 am 


  • प्रतिक्रिया दिनुहोस्