
सुर्खेत, १४ जेठ ।
सुर्खेतका कृषकले उत्पादन गरेको काउली र बन्दालगायतका तरकारीले बजार नपाउँदा किलोको दुई रुपैयाँमा पनि बिकेको छैन । तरकारीले बजार नपाएपछि कृषक चिन्तित बनेका छन् । ठूलो मिहिनेत गरेर लगाएको तरकारीले बजार र मूल्य नपाएपछि किसानले बन्दा, काउलीलगायतका तरकारी बस्तुभाउलाई खुवाउन थालेका छन् ।
‘किलोको दुई रुपैयाँमा तरकारी बेच्नुपर्दा मन अमिलो भएको छ,’ बराहताल गाउँपालिका– ५ सुन्द्वारीका किसान दुर्गाप्रसाद पौडेलले भने, ‘बजारमा काउलीको खुद्रा मूल्य १५ देखि २५ सम्म छ, हामी दुई रुपैयाँ किलो बेच्न बाध्य छौं ।’
स्थानीय बजारमा प्रचलित मूल्यमा खरिद गर्न कुनै व्यवसायी तयार नभएपछि किसान सस्तो मूल्यमा व्यापारीले भनेकै दरमा विक्रि गर्न बाध्य छन् । किसानको बारीमा अहिले बन्दा, काउली, प्याज, गोलभेँडा, र काँक्रा लटरम्म फलेका छन् । तर उनीहरुलाई पीरलो बेच्नकै छ ।
आफुले भनेको मूल्यमा ब्यापारीले तरकारी लिन नमानेपछि किसान ब्यापारीले भनेकै मूल्यमा बेच्न बाध्य छन् । सुन्द्वारीमा अहिले ५० भन्दा धेरै किसानले लगाएको तरकारीले बजार पाएको छैन । तरकारीले दुई रुपैयाँ मूल्य पनि नपाएपछि किसानलाई निकै घाटा व्यर्होनु परेको छ ।
बजारमा जिल्ला बाहिरको तरकारी छ्यापछ्याप्ती छ तर आफ्नै गाउँठाउँमा उत्पादन भएको तरकारी भने मूल्य नपाएर गाईबस्तुलाई खुवाउनु परेको गुनासो किसानको छ । बराहताल गाउँपालिकाको बड्डीचौर बजारमा रहेको एक मात्र तरकारी संकलन केन्द्रमा कृषकले उत्पादन गरेको तरकारीले मूल्य पाउन सकेको छैन ।
सुरुमा राम्रो आम्दानी हुन थालेपछि तरकारी खेतीमा हौसिएका यहाँका किसान अहिले उचित मूल्य नपाउँदा निरास बनेको बराहतालका किसान कृष्णा कोइरालाले बताइन् । सानो बजार क्षेत्र र बाहिरको तरकारीले बजार पाउने भएपछि यहाँका किसान चिन्तित भएका छन् ।
प्रकाशित मितिः May 28, 2019 at 12:18 pm













कर्मसञ्चार । २०७६ जेष्ठ १४ गते मंगलवार