जडिबुटी केन्द्रीत वनको अध्ययन

सुर्खेत, १४ माघ ।
बर्दिया जिल्लाको उत्कृष्ट वन समूहमा दरिएको श्रीगणेश शिवदुर्गा सामुदायिक वनले मंगलवार कर्णाली प्रदेशमै जडिबुटी विस्तारमा अग्रसर बनेको वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनको अध्ययन अवलोकन गरेको छ ।

मधुवन नगरपालिका ८ को सो वनका अध्यक्ष कालो कार्की, उपाध्यक्ष चन्द्रबहादुर बुढासहित करिव ३ दर्जन उपभोक्ताहरुले भैरम सामुदायिक वनले उत्पादन गरेको विभिन्न जडिबुटीहरुको अवलोकन गरेको हो ।

भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरबहादुर कार्कीले वनले काठ काट्ने कामलाई न्यूनीकरण गर्दै बहुमूल्य जडिबुटी र गैरकाष्ठलाई प्राथमिकता दिएको बताए । वन समूहले विगतदेखि अहिलेसम्म गरेको कामको वारेमा जानकारी गराउँदै उनले आगामी दिनको कार्ययोजना पनि जनाएका थिए । सो क्रममा श्रीगणेश शिवदुर्गा सामुदायिक वनका अध्यक्ष कालो कार्कीले भैरम सामुदायिक वनको अवलोकनपछि धेरै कुराको शिक्षा पाएको बताए । उनले वन समूह भएरपनि जडिबुटीलाई प्राथमिकता दिनुमा आफैमा राम्रो काम भएको भन्दै आफ्नो बनले पनि यही अनुशरण गर्ने जनाए ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद थानीले भैरम सामुदायिक वनको उदाहरणीय काम प्रदेशभर फैलिएको बताए । उनले वन समूहले बन जोगाउने मात्र नभइ जडिबुटी उत्पादनमा पनि आफ्नो फरक पहिचान बनाउन सफल भएको जनाए । उनले नयाँ संघीय संरचनामा सामुदायिक वनहरुको भूमिकाका वारेमा जनपक्षीय ऐनहरु बनाउनसमेत सुझाव दिएका छन् ।

अवलोकनका क्रममा सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष शान्ति सिंह, भैरम सामुदायिक वन समूहका सचिव यामकुमारी चालिसे, सहसचिव कुमार पन्त, सदस्य ललित बसेललगायतको उपस्थिति थियो । टोलीले टिम्मुर, तेजपातलगायतका जडिबुटीहरुको वीऊ राख्ने प्रक्रिया, विरुवाहरुको अवलोकन गरेको थियो ।

प्रकाशित मितिः   January 29, 2019 at 4:41 pm 


  • प्रतिक्रिया दिनुहोस्