अभियान्ताकै घरमा ‘छाउगोठ’ ! भन्छन्– अर्ती दिएर मात्रै नहुँदो रहेछ


सुर्खेत, २९ पुस ।
पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी वडा सदस्य हुन् । सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लागिरहेका भण्डारीकै घरमा (महिनावारी भएका महिला बस्ने ठाउँ) छाउगोठ छ ! घरका महिला महिनाबारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छन् ।

स्थानीय सरकार गठनलगत्तै पञ्चपुरी नगरले छाउपडी अन्त्यका लागि गाउँमा पटक–पटक जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । ‘मेरो वडामा हुने कार्यक्रममा अतिथिका रूपमा धेरैपटक छाउगोठ हटाउन भाषण पनि गर्ने गरेको छु,’ वडा सदस्य भण्डारी भन्छन्, ‘आफ्नै घरकाले नमान्दा अरूलाई मात्रै अर्ती दिएर नहुँदो रहेछ ।’

चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिकाका सचिव हुन् । उनकै घरमा छाउगोठ छ । सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा–सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई पनि जानकारी नभएको होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ,’ बयकले भने, ‘व्यक्तिगत रूपमा म मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ ।’

स्थानीय सरकार गठनपछि गत वर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तर गाउँमा छाउपडी कुप्रथा अन्त्य हुनुको साटो झन्झन् बढ्दै गएको देखिएको छ ।

‘महिनाबारी भएका बेला छाउगोठमा बस्नु हुन्न भनेर वडा कार्यालयबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं तर आफ्नै घरकाले मान्दैनन्, महिनाबारी भएको बेला पाँच दिनसम्म छाउगोठमै बस्छन्’, वडासदस्य भण्डारीले भने, ‘यो कुप्रथा अन्त्य हुनुको साटो झन्झन् बढ्दै गएको छ ।’

२०७१ सालमा साबिकको तातापानी गाविसलाई छाउपडीमुक्त घोषणा गरिएको थियो । छाउपडीमुक्त घोषणा गर्नुअघि गाउँभरिका एक सय ९२ छाउगोठ भत्काइएका थिए । अहिले त्यो ठाउँ पुरानै अवस्थामा फर्केको छ ।

गुटुको भावरमा चार वर्षअघि २३ वटा छाउगोठ भत्काइए । अहिले तिनै ठाउँमा आठवटा छाउगोठ बनिसकेका छन् । केही बन्ने क्रममा छन् । ‘मनबाटै छाउपडी नहटाउँदासम्म छाउगोठ भत्काएर मात्रै केही हुँदो रहेनछ,’ चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले भनिन्, ‘त्यसैले हामीले छाउगोठ भत्काउने भन्दा पनि यसलाई प्रोत्साहन गर्ने धामी, झाँक्रीलाई प्रोत्साहनको कार्यक्रम ल्याएका छौं ।’ गाउँपालिकाले छाउगोठमा रहने महिलाहरूलाई घरमा राख्न प्रोत्साहन गर्ने धामीझाँक्रीलाई नगद पुरस्कृत गर्ने कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै छाउगोठमा बस्दै आएका महिलालाई घरभित्र राख्न प्रोत्साहन गरेबापत धामीझाँक्रीलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । सोहीअनुसार प्रत्येक वडाले सार्वजनिक सूचना प्रकाशन गरेका छन् । तर पनि आजसम्म महिलालाई घरभित्र राखेको भन्दै कुनै धामी–झाँक्री प्रोत्साहन भत्ता लिन नआएको गाउँपालिकाको भनाइ छ ।

महिनावारी भएको बेला महिलालाई छाउगोठमा राख्न गाउँका धामी–झाँक्रीको भूमिका ठूलो छ । घरमा बस्दा देउता रिसाउने, आफूसहित परिवारका सदस्यहरू बिरामी पर्ने, अन्नबाली नसप्रने, पशुचौपायालाई हानि हुने भन्दै धामीझाँक्रीले नै महिलालाई छाउगोठमा राख्न निर्देश गर्ने गरेका हुन्छन् । ‘महिनावारी भएका एक महिलालाई घरभित्र राखेबापत तीन हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका छौं,’ उपाध्यक्ष रानाले भनिन्, ‘तर पनि अहिलेसम्म पुरस्कार लिन कोही पनि आउनुभएको छैन ।’

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफैं छाउगोठ भत्काउने भन्दा पनि मनको डर हटाउने अभियानमा गाउँपालिका लागेको बताए । ‘यसअघि पनि छाउगोठ भत्काइएका हुन् तर प्रभावकारी हुन सकेन,’ उनले भने, ‘अब डर हटाउँदै गाउँपालिकालाई छाउगोठमुक्त बनाउने अभियानमा हामी छौं ।’ पञ्चपुरी गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमबाट पनि छाउगोठ हटाउन नसकिएपछि छाउगोठ बनाउने र महिलालाई छाउगोठमा राख्ने घरलाई सरकारी सेवा–सुविधा नदिने निर्णय गर्न लागिएको नगर प्रमुख उपेन्द्रबहादुर थापाले बताए ।

‘कार्यपालिका बैठकमार्फत छाउगोठ बनाउने र महिनावारी भएको बेला महिलालाई छाउगोठमा राख्ने घरका सदस्यलाई सरकारी सेवा नदिने निर्णय गर्दै छौं,’ उनले भने, ‘यति गर्दा पनि भएन भने कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’ उनले जनप्रतिनिधि र सरकारी कर्मचारीकै घरमा पनि छाउगोठ रहेकाले त्यस्ता छाउगोठलाई तत्काल हटाउन लगाइने बताए ।

प्रकाशित मितिः   January 13, 2019 at 4:08 pm 


  • प्रतिक्रिया दिनुहोस्