
सुर्खेत, २९ पुस ।
राजनीतिमा ‘कठपुतली’ शब्द खुबै प्रयोग हुन्छ । अरु कसैको इसारामा चल्नु अर्थात् वास्तविक अर्कै तर देखिने रुप एउटा छ,भने त्यसलाई कठपुतली भन्ने गरिन्छ । नेपाली राजनीतिमा सधैंजसो उच्चारण भइरहने ‘कठपुतली’ शब्द विवाहजस्तो विशुद्ध सामाजिक संस्कारमा प्रयोग नहुनुपर्ने हो । किनकि, विवाह एउटालाई देखाएर अर्कैसँग गरिन्न ।
पश्चिम सुर्खेतमा एउटा अनौठो संस्कार जीवित छ । जहाँ बाल उमेरका केटी–केटीबीच बिहे हुने गर्छ । समलिंगी भने होइन । एक दिन तामझामका साथ विधिपूर्वक बालिकालाई नै वर–वधू बनाएर बिहे गरिन्छ । बिहे सम्पन्न भएकै रात वर–वधूलाई आ–आफ्नै घरमा पठाइन्छ । यसैलाई कठपुतली विवाह भन्ने गरिन्छ ।
माघ १ गते हुने ‘कठपुतली’ विवाहका लागि अहिले पश्चिम सुर्खेतका गाउँहरुमा तयारी शुरु भइसकेको छ । स्थानीय रमेश देवकोटाका अनुसार यो वर्ष पनि पश्चिम सुर्खेतका तीन वटा गाउँमा कठपुतली विवाहका लागि तयारी तीव्र पारिएको छ । बालिकालाई नै दुलाहाको भेषमा सजाउने चलन छ ।
कसरी गरिँन्छ कठपुतली विवाह ?
दुई वर्ष अगाडि गुटु–४ भाप्रका रामलाल बयकको घरमा केहीअघि ठूलै चटारो थियो । घरआँगनमा मानिसहरुको बाक्लो जमघट । पञ्चेबाजा घन्किरहेको थियो । ११ वर्षीया छोरी दीक्षालाई दुलहा बनाएर जन्तीको लावालस्करसहित डोली लिएर बयक परिवार दुलही लिन नजिकको अर्को गाउँ जाँदै थियो ।
सोही ठाउँ डाँबकी १३ वर्षीया किरण देवकोटा दीक्षाकी दुलही अर्थात् बयक परिवारकी बुहारी थिइन् । जन्तीलाई स्वागत गर्न र दुलही अन्माउन डाब टोलमा पनि उस्तै चटारो थियो । गाउँभरिका मान्छे दुलहा–दुलही हेर्न भेला भए । दुलही लिएर गएपछि बयकको घरमा दीक्षा र किरणको औपचारिक बिहे भयो । दुई वर्ष अगाडिको माघमा गुटु बजारकै मिलनचोकमा पनि विवाहको भव्य उत्सव थियो । मिलनचोककी १० वर्षीया पार्वती बीसी दुलाहा थिइन् । उनका घरपरिवारसहित छरछिमेकीहरु दुलही लिन सोही ठाउँकै मोतीसेरा टोल पुगेका थिए । मोतीसेराकी सम्झना बयकलाई दुलहीका रुपमा पार्वतीको घरमा अन्माइयो ।

यो बिहेमा कोसेलीका रुपमा माल्टाटा (मालुको रुखमा फल्ने बोक्राभित्रको एक प्रकारको फल) लिने गरिन्छ । ‘बिहेपछि राति नै दुलहीलाई ससम्मान फर्काउँछौं,’ स्थानीय टोप बहादुर बयक भन्छन्, ‘अन्य बिहेजस्तो यसमा पनि सबै विधि पूरा गर्छौं ।’ यो चलन पुर्खौदेखि चलिआएको उनी बताउँछन् ।
उनका अनुसार हिउँद याममा भुवाको ठूलो जात्रा लाग्दो रहेछ । आगोको मुढा ताप्ने क्रममा बिहे गर्ने उमेरका (पहिले–पहिले निकै कलिलो उमेरमा बिहे गर्ने चलन थियो) दुई बालिकाको जलेर मृत्यु भएछ । घटनापछि छोरीको बिहे गर्ने सपना अधुरै भएछ । अनि, घटनाको एक वर्षपछि तिनै बालिकाको सम्झनामा उनका परिवार, इस्टमित्रले उनीहरुकै प्रतिरुप बनाएर विवाह गरेछन् ।
त्यसयताका हरेक वर्ष गुटु र आसपासका गाउँमा बाल उमेरका केटी–केटीबीच विवाह हुने गर्दोरहेछ । प्रत्येक साल दुलहा–दुलही पक्ष साटासाट हुन्छन् । यो साल दुलहा हुने गाउँमा अर्को साल दुलही बनाइँन्छ । दुई गाउँबीच यस्तो क्रम चलिरहन्छ । रजस्वला नभएका बालिकालाई वर–वधू बनाउने चलन छ ।
प्रकाशित मितिः January 13, 2019 at 12:02 pm























कर्मसञ्चार । २०७५ पुष २९ गते आइतवार