सुर्खेत, २ असोज ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चिनियाँ लगानी कर्ताको टोली लिएर प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा पुगेका छन् । मुगुको रारामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि चिनियाँ लगानीकर्तासहितको टोली लिएर मुख्यमन्त्री शाही मंगलबार रारा पुगेका हुन् ।
चिनियाँ टोलीले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको रारामा ठूलो विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरेको हो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल भइरहेको वताएका छन् । शाहीले प्रदेशको भौतिक पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन पहल भइरहेको बताए ।
रारामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्ताको टोलीसहित मुगु पुगेर फर्केपछि सुर्खेत विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले पर्यटन, जलविद्युत, सडक र विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताए । प्रदेश सरकारको विशेष आग्रहमा नर्थ वेस्ट एभिएसन कम्पनी सहितको लगानीकर्ताको टोलीले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको रारा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।
चिनियाँ सरकारको स्वामित्व रहेको उक्त कम्पनीले हाल भैरहवा विमानस्थल निर्माण गरिरहेको छ । कर्णालीको पर्यटन विकासका लागि रारा क्षेत्रमा ठूला होटेल तथा रिसोर्ट र विमानस्थल आवश्यक भएकोले लगानीकर्ताको टोलीलाई उक्त क्षेत्रमा लगानी गर्न आफूले आग्रह गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए । हाई अल्टिच्युट विमानस्थलका रुपमा रारामा विमानस्थल निर्माण गर्न लगानीकर्ताहरू सकारात्मक रहेको पनि शाहीको भनाई छ । त्यस अतिरिक्त जलविद्युत विकासका लागि तिला १ र २, फुकोट हाइड्रोपावर लगायतका क्षेत्रमा अवलोकन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।













कर्मसञ्चार । २०७५ असोज २ गते मंगलवार