ढोडेखालीमा आधुनिक बधशाला सञ्चालनमा

सुर्खेत, १० असोज ।
वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीमा आधुनिक खशीबोका बधशाला सञ्चालनमा आएको छ । उच्चमूल्य कृषि बस्तु विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको बधशाला बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । बधशालाका लागि आयोजनाले १७ लाख रुपियाँ अनुदान सहयोग गरेको हो भने बाँकी जेवी मिट एण्ड सेल्सको हो । चारवटा कोठाहरु रहेको बधस्थलमा बध गर्ने, मासु छुट्याउने, चिस्यान र विक्री कक्ष छन् ।

मासु विक्रीको लागि वीरेन्द्रनगर बजारको जुम्ला रोडमा पसल पनि सञ्चालन गरिएको संचालक जनकबहादुर थापाले जानकारी दिए । बधस्थल सञ्चालनमा आएपछि यहाँका उपभोक्ताहरुले स्वच्छ र सफा मासु उपभोग गर्न पाउने छन् । आयोजनाका पशु सेवाविज्ञ दामोदर न्यौपानेले गुणस्तरीय मासु उत्पादनमा बधशालाले सघाउ पु¥याउने बताए । सुविधायुक्त बधशालामा अहिले दैनिक पाँच वटासम्म खशी बध गर्ने गरिएको छ भने दैनिक पाँच वटा जिवित खशीसमेत विक्री गरिदै आएको छ । बधशालामा छ जनाले रोजगारी पाएका छन् । बधशालाको बुधबार औपचारिक उद्घाटन गरिएको छ ।

एक वर्ष लगाएर निर्माण गरिएको बधशालाको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले उद्घाटन गरे । उनले बधशालाबाट उत्पादन हुने मासुको गुणस्तरीयतामा ध्यान दिन सञ्चालकलाई सुझाव दिए । उनले बधशाला सञ्चालनसँगै उपभोक्ताले स्वच्छ मासु उपभोग गर्न पाउने विश्वास व्यक्त गरे । पशु तथा पंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डाक्टर कृष्णराज पाण्डेले बधशालामा बध गर्नुअघि र पछि मासुको जाँच गरेर मात्रै बजारमा पठाउनुपर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष बालाराम सुनार, कर्णाली प्रदेशका पशु पंक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख सुमिन्द्र यादव, कृषि तथा पशुपंक्षी मन्त्रालयका उपसचिव शिरिष पुन, सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष धनबहादुर रावत, पशु अस्पताल तथा ज्ञान केन्द्र सुर्खेतका प्रमुख उत्तम थापालगायतले आ–आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मितिः   September 27, 2018 at 10:28 am 


  • प्रतिक्रिया दिनुहोस्