२१ तोला अवैध सुनसहित व्यवसायी पक्राउ

सुर्खेत, ६ असोज ।
नेपालगञ्जका एक सुन व्यापारी सुर्खेतमा पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरो टोलीले आज वीरेन्द्रनगरको सुब्बाकुनाबाट नेपालगञ्ज उप–महानगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरेको हो ।

भे ५ प १८ नम्बरको मोटरसाईकलमा २१ तोला अवैध सुन लुकाएर ल्याउँदै गरेको विशेष सुराकीका आधारमा जसगढलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) श्याम सिंह चौधरीले जानकारी दिए ।

प्रहरी टोलीले चेकजाँच गर्न खोज्दा जसगढ भागेका थिए,’ प्रवक्ता चौधरीले भने, ‘सुब्बाकुनाको चेक पोष्टभन्दा तीनसय मिटर पर भागिसेका जसगढलाई प्रहरीले पिछा गरेर पक्राउ गरेको हो ।’ प्रहरीले उनको साथबाट विभिन्न सुनका गरहना अन्दाजी २१ तोला ७९ ग्राम पठ्ठरसहित बरामद गरेको छ ।

उक्त सुनको बजार मूल्य १२ लाख रहेको प्रवक्ता चौधरीले बताए । जसगढलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   September 22, 2018 at 2:51 pm 


  • प्रतिक्रिया दिनुहोस्