कर्णालीका ९ जिल्लामा कृषि ज्ञान केन्द्र

सुर्खेत, २९ भदौ ।
कर्णाली प्रदेशको सुर्खेत बाहेकका जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिने भएको छ । दैलेखमा साबिकको जिल्ला कृषि विकास कार्यालयकै भवन र रुकुम (पश्चिम) को मुसीकोटमा केही दिनअघि ज्ञानकेन्द्रको स्थापना गरिएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतका संरचनाको टुंगो लगाएको छ। प्रदेश मन्त्रालयबाट प्रस्तावित सांगठनिक संरचना, दरबन्दी तथा कार्यालय रहने स्थानलाई संघीय कृषि तथा पशुपक्षी मन्त्रालयले स्वीकृत गरी पठाएको  हो  ।

सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको तयारी छ ।

कार्यालय स्थापना भए पनि क्षेत्रगत कार्य नतोकिँदा समस्या भएको छ । दैलेखमा बागवानी अधिकृतको नेतृत्वमा आठजना कर्मचारी खटाइएको छ । ‘अहिले नै ज्ञान केन्द्रले के काम गर्ने भनेर ‘टीओआर’ आइसकेको छैन,’ मन्त्रालयका कृषि प्रसार अधिकृत पूर्णबहादुर थापाले भने, ‘स्थानीय तहका कृषि शाखाहरूबीच समन्वय गर्ने, कृषकलाई परामर्श दिने, प्रदेश मन्त्रालयअन्तर्गत जिल्लास्तरका योजनाहरूको कार्यान्वयन ज्ञान केन्द्रबाटै हुन सक्छ ।’
कर्णालीका मुगु, हुम्ला, डोल्पा, सुर्खेत, जाजरकोट, पश्चिम रुकुम, सल्यानमा भेटरिननरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हुनेछन् । मुगु, हुम्ला र डोल्पामा शाखा अधिकृत र बाँकी ४ जिल्लामा उपसचिवले भेटरिनरी अस्पतालको नेतृत्व गर्नेछन । मन्त्रालय अन्तर्गत कृषि व्यवसाय प्रवद्र्धन र तालिम केन्द्र, सल्यानको दार्मामा आलु बाली विकास कार्यक्रम, डोल्पाको जुफालमा शितोष्ण तरकारी बीउ उत्पादन केन्द्र स्थापना हुँदै छन् ।
कृषि व्यवसाय प्रर्वद्धन केन्द्र र बीउ उत्पादन केन्द्रमा सातरसात र आलु विकास कार्यक्रममा पाँचजना कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ । प्रवद्र्धन केन्द्र कुन जिल्लामा स्थापना हुने भन्ने टुंगो छैन । मन्त्रालयले माटो, विषादी र बाली संरक्षण प्रयोगशालाको सांगठनिक संरचना पनि प्रस्ताव गरेको छ । सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको तयारी छ । जुन नेपाल सरकारबाट स्वीकृत हुन बाँकी छ । कर्णाली सरकारको पहिलो बैठकले अर्गा्निक प्रदेश निर्माण गर्ने निर्णय गरिसकेकाले अर्गानिक कृषि अनुसन्धान केन्द्र पनि स्थापना गर्ने तयारी छ । प्रदेशले ऐनमार्फत केन्द्र स्थापना गर्नेछ । यसका लागि प्रदेश सरकारले बजेट पनि विनियोजन गरिसकेको छ ।
मन्त्रालयअन्तर्गत कृषि विकास र पशुपक्षी तथा मत्स्य विकास गरी दुई अलग–अलग निर्देशनालय बन्दै छन् । राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को नेतृत्वमा कृषि विकासतर्फ ३८ र मत्स्य विकासमा २६ जना कर्मचारीको दरबन्दी स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता गणेशप्रसाद बरालले कृषि तथा पशुतर्फ मातहतका संरचना र कर्मचारीको व्यवस्थापन विवरण प्राप्त हुनुका साथै संरचना स्थापना हुने क्रम सुरु भइसकेको बताए । नयाँ संरचनाहरूमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय मन्त्रालय परिसरमै स्थापना भइसकेको छ । २६ जनाको दरबन्दी स्वीकृत भए पनि यस निर्देशनालयमा हाल एक जना मात्र कर्मचारी छन् ।
केन्द्रले खटाएका कर्मचारी आउन ढिलाइले उपसचिव सुमिन्द्र यादवले निर्देशनालय कुरिरहेका छन् । भर्खरै स्थापना भएको निर्देशनालयलाई पनि कामको जिम्मेवारी तोकिएको छैन । मन्त्रालयका प्रवक्ता बरालले मन्त्रीस्तरको निर्णयले निर्देशनालयले गर्ने कामको ‘टीओआर’ (क्षेत्रगत कार्य) तयार पारिने जानकारी दिए ।

प्रकाशित मितिः   September 14, 2018 at 5:11 pm 


  • प्रतिक्रिया दिनुहोस्