
सुर्खेत । बाल अधिकार संरक्षण र प्रवर्द्धनका लागि कर्णाली प्रदेशस्तरीय तेस्रो बाल भेला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा कर्णाली प्रदेश बाल क्लब सञ्जाल, बाल अधिकारका लागि साझा अभियान (सिसिआर) कर्णालीलगायत विभिन्न नागरिक समाज संस्थाहरूको आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले बालबालिकाको अधिकार संरक्षण, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र बालमैत्री समाज निर्माणको सन्देश दिएको छ । उक्त कार्यक्रममा बालबालिकाको हकहित संरक्षण, उनीहरूका सवाललाई नीति तथा कार्यक्रममा समेट्ने र बालमैत्री वातावरण निर्माण गर्ने विषयमा जोड दिइएको थियो ।

भेलालाई सम्बोधन गर्दै कर्णाली सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री कलबहादुर हमालले बाल अधिकारलाई संस्थागत गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । उनले बालमैत्री कर्णाली निर्माणका लागि सम्बन्धित सबै पक्षबीच हातेमालो आवश्यक रहेको बताएका हुन् । ‘बालमैत्री वातावरण निर्माणका लागि तीनवटै तहका सरकार, बाल क्लब सञ्जाल र नागरिक समाजबीच प्रभाावकारी समन्वय हुनुपर्दछ,’ उनले भने, ‘यो भेलाले बाल अधिकारका सवाललाई थप सशक्त बनाउने विश्वास लिएको छु ।’ मन्त्री हमालले नीति, कार्यक्रम र बजेट निर्माण तथा कार्यान्वयनमा बालबालिकाको अर्थपूर्ण सहभागितालाई जोड दिनुपर्ने धारणा राखे । उनले बालबालिका राष्ट्रका भविष्य मात्र नभइ वर्तमानका साझेदार र परिवर्तनका सम्वाहकसमेत भएको बताए ।

यस्तै, सामाजिक विकास मन्त्रालयका शैक्षिक तथा सामाजिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले बाल अधिकारका सन्दर्भमा स्पष्ट संवैधानिक व्यवस्था हुँदाहुँदै कार्यान्वयनमा कतिपय कठिनाइ र समस्याहरू देखिने गरेको बताए । उनले बालबालिकाको आवाजलाई प्राथमिकता दिँदै उनीहरूको क्षमता विकास, अधिकार सुनिश्चितता र बालमैत्री कर्णाली निर्माणका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य जरुरी रहेको औंल्याए । प्रदेशस्तरीय बाल अधिकार संरक्षण समितिका सदस्य सचिव समेत रहेका उनले मन्त्रालयले कर्णालीमा बालबालिका सम्बन्धि ऐन तर्जुमाका लागि आवश्यक प्राथमिक कामहरू अघि बढाएको जानकारी दिए । उनले प्रदेशस्तरीय भेलाले बाल अधिकारका क्षेत्रमा क्रियाशील निकायको सहकार्य अझै मजबुत बन्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यले सबैको साझा प्रयासले बाल अधिकारका क्षेत्रमा पछिल्ला वर्षहरूमा क्रमिक रुपमा सकारात्मक परिवर्तन सम्भव भएको बताए । उनले बालबालिकाका नीति, कार्यक्रम र बजेटमा सुधार आएको बताउँदै कर्णालीमा बालबालिका सम्बन्धि ऐन ल्याउन ढिलाइ गर्न नुहने बताए ।
बाल क्लब सञ्जालका पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले भेलामा प्राप्त सुझावहरूलाई सरकारी निकाय तथा विकास साझेदार संस्थाहरूले गम्भीरतापूर्वक लिएर आगामी नीति, योजना र बजेटमा समेट्न आग्रह गरेका थिए । प्रदेश बाल क्लव सञ्जाल कर्णालीका अध्यक्ष समिक्षा चौधरीको अध्यक्षतामा भएको भेलाको सहजीकरण सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यलगायत बाल क्लव सञ्जालका पदाधिकारीहरूले गरेका थिए । कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला निकाय, बाल अधिकारकर्मी तथा कर्णालीका अधिकांश स्थानीय तहबाट बालबालिकाहरूको प्रतिनिधित्व रहेको थियो । भेलाले आगामी दुई वर्षका लागि कर्णाली प्रदेशस्तरीय बाल क्लव सञ्जालको नयाँ नेतृत्वसमेत चयन गरेको छ ।







कर्मसञ्चार । २०८३ कार्तिक १३ गते बिहीवार