
सुर्खेत । सशक्तिकरणका लागि मैत्रीपूर्ण ह्विलचेयर बास्केटबल खेल प्रदर्शन गरिने भएको छ । स्पाइनल इञ्जुरी संघ सुर्खेतको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार (भोलि) वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा ह्विलचेयर बास्केटबल खेल प्रदर्शन गर्न लागिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी खेल तथा अभियानबारे जानकारी गराइएको हो ।
आयोजक संस्थाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका ह्विलचेयर बास्केटबल टोलीबीच मैत्रीपूर्ण खेल हुनेछ । खेल हुनुअघि बिहान १०ः३० बजे घण्टाघरदेखि रंगशालासम्म ह्विलचेयर र्याली निकालिनेछ । झण्डै एक घण्टा हुने मैत्रीपूर्ण खेल अवलोकनका लागि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलगायतका अतिथिहरूको सहभागिता रहने जनाइएको छ ।
संघका अध्यक्ष मदन कार्कीले सोही अवसरमा सशक्तिकरण अभियानका बारेमा समेत जानकारी गराइने बताए । स्पाइनल इञ्जुरी संघले सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सिफ्ट अभियान अन्तर्गत ‘पाङ्ग्राको उडान’ नामक अभियान सञ्चालन गरिरहेको छ । यस अभियानमा मेरूदण्डको पक्षघात भइ अपाङ्गता भएका व्यक्ति तथा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर बास्केटबल खेलमार्फत सशक्तिकरण गर्न संघले विभिन्न विद्यालयहरूमा मैत्रीपूर्ण खेल प्रदर्शन गर्दै आएको छ । संघका सल्लाहकार दिव्यराज खड्काले रंगशालामा आयोजना गरिएको मैत्रीपूर्ण खेलको उद्देश्य पनि सशक्तिकरणमा टेवा पुर्याउनु रहेको बताए ।
प्रकाशित मितिः December 2, 2025 at 8:28 pm


कर्मसञ्चार । २०८२ मंसिर १६ गते मंगलवार