
सुर्खेत, २ असोज ।
उच्च मूल्य कृषि बस्तु विकास आयोजना (एचभिएपी) ले संचालन गरी सम्पन्न गरेका सुर्खेतका २ सय ३० वटा उप–आयोजनाहरु सम्वन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको छ । मंगलबार वीरेन्द्रनगरमा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह/सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले सुर्खेतका ९ वटा स्थानीय तहलाई विस्तृत विवरणसहित उप–आयोजनाहरु हस्तान्तरण गरेका छन् । वीरेन्द्रनगर नगरपालिकालाई ४६, गुर्भाकोट नगरपालिकालाई ३८, भेरीगंगा नगरपालिकालाई २८, पंचपुरी नगरपालिकालाई २५, लेकवेसी नगरपालिकालाई २३ वटा उप–आयोजना हस्तान्तरण गरिएको हो ।
यस्तै, बराहताल गाउँपालिकालाई ३५, सिम्ता गाउँपालिकालाई ९, चिंगाड गाउँपालिकालाई २३ र चौकुने गाउँपालिकालाई ३ वटा उप–आयोजना हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका उप–आयोजनामा बेमौसमी तरकारीका ७५, खसीबोकाका ६४, बेसारका २४, अदुवा ४३, तरकारी बीउ ११, टिमुरका ७ र व्यवसायी सेवाका ६ वटा छन् ।
गोष्ठीमा आयोजना प्रमुख भारीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सुर्खेतका किसानलाई ३० करोड २९ लाख ५३ हजार रुपैया अनुदान सहयोग गरेको जानकारी दिए । खसीबोका, बेमौसमी तरकारी, तरकारी बीउ, अदुवा, बेसार मुल्य श्रृंखलामा अनुदान पाएपछि लाभग्राही किसानहरुले पनि आफ्नो तर्फबाट २२ करोड ४० लाख ९१ ह्जार रुपैयाँ लगानी गरेको उनले बताए ।
आयोजनाले सहकार्य गरेका ३ सय ३० वटा उप–आयोजनामा आवद्ध ५ हजार ४ सय ५ घरधुरी किसानको आयस्तर बृद्धिमा सहयोग पुगेको बताइएको छ । आयोजनाको सहयोगपछि किसानको आम्दानी सगसँगै कृषि जन्यवस्तुको उत्पादन र विक्री परिमाणमा पनि उल्लेख बृद्धि भएको दाबी गरिएको छ । आयोजनाले सहयोग गरेका किसानको आधार वर्षको आम्दानीमा ८ गुणाले बृद्धि भएको, आधार वर्षमा प्रतिघरधुरी ४ हजार ४ सय ४५ रुपैया रहेको रहेकोमा आयोजना सम्पन्न हुँदा आम्दानी बढेर ४० हजार २ सय ७१ रुपैया पुगेको, आयोजनाको सहयोगपछि किसान आधार वर्षको तुलनामा ३५ हजार ८ सय २६ रुपैया थप आम्दानी गर्न सफल भएको आयोजना प्रमुख भारीले बताए ।
‘आयोजना सम्पन्न गोष्ठी’ मा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, लेकवेसी नगरपालिकाका प्रमुख गगनसिं सुनार, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले आयोजनाले सुर्खेतका विपन्न किसानको जीवनस्तर सुधार ल्याउन महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका थिए ।
आयोजना प्रमुख सम्मानित

उच्च मूल्य कषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी सम्मानित भएका छन् । कर्णाली प्रदेशमा किसानलाई टिमुर खेती तर्फ आकर्षित गर्न नर्सरी स्थापना र उत्पादित टिमुरलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सहयोग गरेको भन्दै भैरव सामुदायिक वन उपभोक्ता समुहले भारीलाई सम्मान गरेको हो ।
आयोजना प्रमुख भारीलाई जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरे । हरित गृह नर्सरी स्थापना गर्न सहयोग गरेर आयोजना प्रमुख भारीले कर्णाली प्रदेशमा टिमुरको व्यवसायक खेती गर्न महत्वपूर्ण योगदान गरेकाले त्यसको उच्च मूल्याकन गदै सम्मान गरेको भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बताए ।
प्रकाशित मितिः September 18, 2018 at 6:23 pm













कर्मसञ्चार । २०७५ असोज २ गते मंगलवार