वीरेन्द्रनगर–८ लाई वातावरणमैत्री र बालमैत्री वडा घोषणा गरिँदै

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाको ८ नं. वडालाई वातावरणमैत्री र बालमैत्री वडा घोषणा गरिने भएको छ । अधिकांश आधारभूत सूचकहरू पुरा भएसँगै भोली (शनिवार) यो वडालाई औपचारिक कार्यक्रमकाबीच वातावरण र बालमैत्री शासनयुक्त घोषणा गर्न लागिएको हो ।
वडाले वातावरणमैत्री र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेको अधिकांश सूचक पूरा गरेपछि घोषणाको तयारी गरिएको वीरेन्द्रनगर–८ का अध्यक्ष टीकाराम शर्माले बताए । यस वडामा गतवर्षदेखि वातावरणमैत्री र बालमैत्री अभ्यासहरू थालिएको थियो । अध्यक्ष शर्माका अनुसार घोषणाको दिगोपनाका लागि निरन्तर काम गर्न वडास्थित सम्पूर्ण सरोकारवालाहरूले प्रतिबद्धतासमेत जनाइसकेका छन् ।
वीरेन्द्रनगर–८ मा झन्डै २२०० घरधुरी र जनसंख्या आठ हजारभन्दा बढी छ । यहाँ अस्थायी रूपमा बसोबास गर्नेहरूको संख्या भने २० हजार हाराहारी रहेको अध्यक्ष शर्माले बताए । वडालाई स्वच्छ, सुन्दर र सरसफाईयुक्त, बालअधिकार सुनिश्चित, बालश्रममुक्त, हिंसारहित एवम् बालविवाह निषेधित बनाउने आधारहरू तय भएकाले घोषणा गरेर अभियानलाई निरन्तरता दिइने अध्यक्ष शर्माको भनाइ छ ।
वीरेन्द्रनगरमा यसअघि कुनैपनि वडालाई वातावरण र बालमैत्री वडा घोषणा गरिएको छैन । वातावरणमैत्री र बालमैत्री स्थानीय तहका सूचकहरूलाई सबै बस्ती, वडा र नगरभित्र कार्यान्वयनमा ल्याउनेगरी अभियानका रूपमा अघि बढाइएको जनाइएको छ ।

प्रकाशित मितिः   July 4, 2025 at 11:58 am 


  • प्रतिक्रिया दिनुहोस्