
घरमा परेको हिउँ पन्छाउँदै जुम्लामा महिला । भारी हिमपातले कर्णालीमा जनजीवन प्रभावित भएको छ ।
सुर्खेत, १४ माघ ।
कर्णाली प्रदेशका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका कारण अत्यधिक जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । जाडोका कारण हिमाली क्षेत्रका बासिन्दालाई बाहिर निस्कनै समस्या भएको छ ।
मुगुमा माघ लागेपछि हिउँ थपिँदै जान थालेको छ । लेकदेखि औंलम्म हिउँले गाउँबेसी सेताम्मे बनेका छन् । यो वर्ष माघ महिनामै ३ पटक हिउँ परिसकेको छ । तीन दिनअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि शुक्रबार राति हिउँ परेको हो । सोरु गाउँपालिकाको सोरुकोट, धैनकोट, नार्थपु, मुसिनमेलासम्म हिउँ परेको स्थानीयको भनाइ छ ।
स्थानीयलाई दाउराघाँसदेखि अन्य दैनिक कामकाज गर्न मुस्किल भएको छ । हिउँ थपिँदै जाँदा हिंडडुल गर्न र चौपाया बस्तु चराउन कठिनाइ हुन थालेको मुर्मा गाउँका डबल रोकायाले बताए । हिमपातले लेकतिरका बस्तीको अन्य गाउँसँग सम्बन्ध बिच्छेद हुन थालेको उनले जनाए । उनका अनुसार हिउँले बाटो नै पत्ता लगाउन मुस्किल हुन थालेपछि आउजाउमा बाधा पुगेको छ । चिसोले लेक बस्तीका बुढापाका र बालबालिका प्रभावित हुन थालेका छन् । भारी हिमपातले खडेरीले सुकेका पानीका मुहान थपिने र कर्णाली नदीको बहाव बढ्न थालेको स्थानीयले जनाए । हिउँले अन्नबाली, तरकारी र फलफूलको उत्पादन बढ्ने भन्दै किसान खुसी भएका छन् ।
रारा हिउँले कपासजस्तै सेताम्मे र मनमोहक देखिएको छ । हिउँले राराको सुन्दरता थपिएको पर्यटन व्यवसायीको भनाइ छ । चंखेली, छायाँनाथ र चुचुमारे हिमालको हिउँ रारामा छायाको रुपमा देखिन थालेको उनीहरू बताउँछन् । डाँफे होटलका प्रबन्धक बलीराज शाहीले करिब ५ वर्षयता यसपाली रारामा मज्जाले हिउँ परेको बताए । हिमपातले गर्दा आन्तरिक र बाह्य पर्यटक नआएको उनको भनाइ छ । रारा क्षेत्रमा टनाटन हिउँ भरिएपछि बाटो अवरुद्ध भएको छ ।













कर्मसञ्चार । २०७५ माघ १४ गते सोमवार