सुर्खेत उवासंघ निर्वाचनः संयुक्त प्यानललाई पूर्व अध्यक्षदेखि ‘हेभी वेट’ व्यवसायीहरुको साथ


सुर्खेत, २७ मंसिर ।

सुर्खेत उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको सयुंक्त उद्योगी–व्यवसायीको प्यानललाई ‘हेभी वेट’ व्यवसायीहरुले समेत साथ दिएका छन् । संघका सवैजसो पूर्व अध्यक्षहरु प्रकाश उप्रेती नेतृत्वको संयुक्त प्यानलको पक्षमा चुनावी प्रचारमा जुटेका हुन् ।

संघका पूर्व अध्यक्षहरु निरक केसी, सूर्य बहादुर खड्का, विष्णु बहादुर शाही, पदम बहादुर शाही र वर्तमान अध्यक्ष प्रकाश अधिकारीको उप्रेती प्यानललाई सहयोग छ । व्यवसायी विष्णु बहादुर खड्का, मदन बहादुर खड्का, सुन्दरमान प्रधान र पूर्णचन्द्र सापकोटालगायतको पनि संयुक्त उद्योगी– व्यवसायी प्यानललाई समर्थन रहेको छ ।

अहिलेसम्मको चुनावी माहोल हेर्दा उप्रेती प्यानलको पल्ला भारी देखिएको छ । नेपाली कांग्रेस निकट व्यवसायी व्यवसायी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरु मिलेर सयुंक्त प्यानल बनेकाले पनि यो समुहलाई विजयी हुन सहज हुने आंकलन गरिएको छ ।
लोकतान्त्रिक व्यवसायी प्यानलको नेतृत्व गरेका धन बहादुर रावतको पक्षमा भने ‘हेभी वेट’ व्यवसायीहरुको साथ देखिदैन । रावत नेतृत्वको प्यानलमा कांग्रेस निकट व्यवसायीको एउटा समुह मात्रै छ ।

संघको नयाँ नेतृत्वका लागि यही मंसिर २९ गते (शनिवार) निर्वाचन हुँदैछ । आगामी नेतृत्व हत्याउन व्यवसायीहरु दुई टीममा विभाजित भएर प्रतिस्पर्धा गर्दै छन् । २२ पदका लागि ४३ जनाको उम्मेदवारी परेको संघमा झन्डै १ हजार ९ सय व्यवसायी÷फर्म मतदाता छन् ।

प्रकाशित मितिः   December 13, 2018 at 4:06 pm 


  • प्रतिक्रिया दिनुहोस्