
सुर्खेत, २१ कात्तिक ।
तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजाका दिन वीरेन्द्रनगर–६ बुद्धपथस्थित नेपाल बाल पोलिक्लिनिक अगाडी २०/२२ जना भैलेरीहरू जम्मा हुन्छन् । सबैको ढाड र छातिमा सरसफाई सन्देश लेखिएका पेले कार्ड । चोयाको डोको । झट्हेर्दा यो समुहलाई आँगनमा भैलेरी आए भनेर पत्ताउन जोकोहीलाई मुस्किल पर्छ ।
एकैछिनमा त्यहाँ गोलो रेखा बन्छ । बीचमा एउटा डोको घोप्टो पारिन्छ, त्यहीमाथि बसेर एक किशोरीले भैलो भट्याउन शुरु गर्छिन् । घरबेटीलाई घरआँगन सफा राख्न आग्रहदेखि स्वस्थ जीवनको कामना गर्दै आशिष र डोको उपहार दिइँन्छ ।
खासगरी पछिल्लो समय तिहारमा मनोरञ्जन र रकम संकलनका लागि मात्रै खेलिने देउसीभैलोमा यी भैलेरीले डोको चाहीँ किन दिए होलान ? कर्म सञ्चार डट.कम.को जिज्ञासामा ‘गो ग्रिन गो क्लिन’ सुर्खेतका एक अभियान्ता प्रतिमा चपाइँले भनिन्, ‘फोहर संकलन गरी व्यवस्थापन गर्न हामीले डोको उपहार दिएका हौं, रमाईलोको लागि मात्रै देउंसी भैलो खेल्न आएका होइनौं ।’ घरआँगन र वीरेन्द्रनगर सफा राखौं भन्ने सन्देश दिने उद्देश्यले आफूहरूले देउसीभैलो खेलेको उनले बताइन् ।

विङ्गस फाउण्डेशनले केही समययता ‘स्वच्छ सफा सुन्दर शहर, हरियालीमय वीरेन्द्रनगर हाम्रो रहर’ नारासहित सरसफाई अभियान सञ्चालन गरिरहेको छ । प्रतिमा भन्छिन्, ‘सोही अभियानलाई सघाउन सरसफाई सन्देश बाड्दै भैलो खेल्दै छौं ।’ भैलो खेलेपछि संकलन हुने रकमको डोको किनेर उपहार दिने गरेको उनले बताइन् ।उनीहरूले दक्षिणा लिने र डोको उपहार दिने गरेका छन् ।
‘डोको’ भैलोमा सबै उम्मेरसमुहको सहभागिता छ । ‘बालबालिकादेखि बृद्धबृद्धासमेत हाम्रो सन्देशमुलक भैलोमा सहभागि हुनुहुन्छ,’ भैलो खेल्दै गरेका अरुण कोइरालाले भने, ‘रमाईलोको लागि मात्रै देउंसीभैलो खेल्न आएको हैनौं, तिहारलाई सरसफाई सन्देश दिने उपयुक्त अवसर ठानेर यसरी हिँडेका हौं ।

बालबालिकादेखि बयस्क र बृद्धबृद्धासम्म मिलेर बनेको यो टोली अहिले वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा भैलो खेल्दै हिँडेको छ । सरसफाई सचेतना बढाउन देउसीभैलो निकै उपयोगी हुने उनीहरुको विश्वास छ । रमाइलो र पैसा कमाउने मेसोभन्दा पृथक यो सन्देशमुलक ‘डोको’ भैलो वीरेन्द्रनगरका विभिन्न स्थानमा दुईदिनसम्म खेलिने बताइएको छ ।
प्रकाशित मितिः November 7, 2018 at 5:35 pm


कर्मसञ्चार । २०७५ कार्तिक २१ गते बुधवार