
सुर्खेत, १० असोज ।
कर्णाली प्रदेश सभाको अर्थ तथा विकास समितिले तीन वटा मन्त्रालयसँग शीर्षकगत खर्च विवरण मागेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयसँग गत आर्थिक वर्ष २०७४/०७५ मा गरेको खर्चको शीर्षक अनुसारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
अर्थ समितिका जेष्ठ सदस्य अम्मरबहादुर थापाको अध्यक्षतामा बुधवार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट खर्च विवरण पठाएको बताउँदै कुन योजनामा कति बजेट खर्च भएको हो, विवरण खुलाइ लेख्न निर्देशन दिएको छ । ‘सदस्यहरूले मन्त्रालयले पठाएको खर्च विवरणमा जम्मा बजेट र खर्च भएको बजेट मात्र उल्लेख भएकाले शीर्षक अनुसारको विवरण ल्याउनुपर्ने माग गर्नुभएको छ,’ जेष्ठ सदस्य थापाले भने, ‘हामीले सोही बमोजिम तीन वटै मन्त्रालयलाई गत आर्थिक वर्षमा कहाँ के कति विकास निर्माणका काम भयो, बजेट कहाँ खर्च भयो ? त्यो सम्बन्धमा विस्तृत विवरण पठाउन निर्देशन दिएका छौं ।’
चालू आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनका बारेमा के कति कार्ययोजना बनाइएको छ सो बारेमा जानकारी दिन समितिले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवलाई निर्देशन दिने निर्णय भएको थापाले जानकारी दिए ।
‘आगामी आर्थिक वर्षको बजेट कसरी कार्यान्वयन गरिँदैछ भन्ने विषयमा सांसद ज्यूहरूले बैठकमा जिज्ञासा राख्नुभएको थियो,’ थापाले भने, ‘सोही जिज्ञासा समाधान गर्न सरकारका प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवलाई आगामी असोज १५ गते बोलाइएको समितिको बैठकमा अनिवार्य रुपमा कार्ययोजनासहित उपस्थित हुन हामीले निर्देशन दिएका छौं ।’
प्रकाशित मितिः September 26, 2018 at 7:10 pm













कर्मसञ्चार । २०७५ असोज १० गते बुधवार