
सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरी, नेपाल भलिबल संघका केन्द्रिय सदस्य सोमबहादुर श्रेष्ठलगायत ।
सुर्खेत, १ असोज ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेशस्तरीय भलिबल रेफ्री तालिम हुने भएको छ । भोली मंगलबारदेखि शुरु हुने तालिमको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा दिउँसो साढे १ बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले उद्घाटन गर्नेछन् ।
दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक सुर्खेत जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघको समन्वयमा तालिम सञ्चालन गर्न लागिएको कार्यक्रमका संयोजक एवं नेपाल भलिबल संघका केन्द्रिय सदस्य सोमबहादुर श्रेष्ठ मंगलले जानकारी दिए । पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिममा विभिन्न जिल्ला तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी ६२ जना सहभागि हुनेछन् ।
तालिममा सहभागिका लागि ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । त्यसबापत् सहभागिलाई टि–सर्ट, ट्राउजर, डायरी, सिट्ठी, रेफ्री कार्ड, प्रमाणपत्र उपलब्ध गराइनेछ । आतेजाते एवं बसोबास गर्छ भने सहभागि स्वयम्ले व्यहोर्नुपर्ने छ ।

सहभागिले क्षेत्रीय वा राष्ट्रिय स्तरको भलिबल खेल प्रतियोगितामा भाग लिएको वा जिल्ला तथा क्षेत्रीयस्तरका खेलमा रेफ्री भई काम गरेको हुनुपर्ने छ । विद्यालयमा हुने प्रतियोगिता वा खेल शिक्षकका रुपमा कार्यरतले पनि यो तालिम लिन पाउने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।
तालिमको प्रशिक्षण नेपालका लागि एक मात्र भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले दिनेछन् । तालिममा उत्कृष्ट हुनेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री तालिमका लागि सिफारिस गरिने आयोजकले जनाएको छ ।























कर्मसञ्चार । २०७५ असोज १ गते सोमवार