
सुर्खेत, ३१ भदौ ।
दैलेख–१ बाट निर्वाचित सांसद रवीन्द्रराज शर्माले वामदेवका लागि आफू निर्वाचन क्षेत्र छाड्न तयार रहेको प्रस्ताव गरेका छन् । गत बुधबार भैँसेपाटीस्थित निवासमै पुगेर तत्कालीन एमालेबाट निर्वाचित सांसद शर्माले वामदेवसमक्ष त्यस्तो प्रस्ताव राखेका हुन् ।
‘०४७ मा तपाईंकै उपस्थितिमा सम्पन्न पहिलो अधिवेशनबाट म पार्टी जिल्ला कमिटीको संस्थापक सचिव बनेको हुँ, त्यसमा तपाईंको महत्वपूर्ण योगदान छ,’ गौतमसमक्ष शर्माले राखेको प्रस्ताव उद्धृत गर्दै नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘यदि तपाईं मेरो क्षेत्रबाट उपनिर्वाचन लड्न तयार हुनुहुन्छ र पार्टीले पनि निर्णय गर्छ भने म त्याग गर्न तयार छु ।’
जवाफमा वामदेवले आफ्नो व्यक्तिगत रोजाइभन्दा पनि पार्टीले छलफल गरेर निर्णय लिने भन्दै सचिवालय बैठकमा औपचारिक कुरा राख्ने जवाफ दिएका थिए । उक्त निर्वाचन क्षेत्र तत्कालीन एमालेको पकड क्षेत्र भएको र करिब ६ हजारको मतान्तरमा जितेको अवगत गराउँदै शर्माले जित सुनिश्चित रहेकाले सकारात्मक निर्णय लिनसमेत ध्यानाकर्षण गराएका थिए ।
दैलेखका सांसद शर्माले गरेको प्रस्तावबारे नेता वामदेवले प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बुधबारको केन्द्रीय सचिवालय बैठकमा जानकारी गराएका थिए । ‘आज बिहान दैलेखका साथीहरू निवासमा भेट्न आउनुभएको थियो । मैले कुनै प्रसंगै निकालेको थिइनँ, तर सांसद रवीन्द्रराज शर्माले तपाईं आउन तयार हुनुहुन्छ भने छाड्न तयार छु, जित पनि सुनिश्चित छ भन्ने प्रस्ताव राख्नुभएको छ,’ वामदेवको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने ।
बैठकको अन्तिमतिर उनले यो जानकारी गराएकाले कुनै औपचारिक एजेन्डा भने बनेन । तर, वामदेवले लामो समय भेरी अञ्चललाई नै कार्यक्षेत्र बनाएको, बाँके, बर्दिया र दैलेखवासीको आवतजावत बढी नै हुने तथा पार्टीको पकड क्षेत्र भएकाले डोल्पाको तुलनामा धेरै उपयुक्त हुन सक्ने विषयमा बैठकमा सामान्य छलफल भएको थियो । छलफललगत्तै महासचिव पौडेलले बाँके–३ का सांसद रोकायालाई बोलाएर मनासय बुझेको स्रोतले जनाएको छ ।
गृहजिल्ला भएका कारण सबैभन्दा सुरक्षित क्षेत्रका रूपमा वामदेव सुरुमा प्युठानबाट चुनाव लड्ने चर्चा थियो । तर, राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित सांसद दुर्गा पौडेलले तत्काल छाड्न अनिच्छा देखाइन् । यद्यपि, यसबारे अलिपछि कुरा गर्न सकिने जनमोर्चाको जवाफ रहेको स्रोतले जनाएको छ । त्यसलगत्तै अध्यक्ष प्रचण्डसमेतको सुझाबमा पूर्वी रुकुमबाट सांसद कमला रोकालाई राजीनामा गराउने चर्चा चल्यो । उनले त सामाजिक सञ्जालबाटै विरोध जनाइन् ।
त्यसो त पूर्वी रुकुमबारे गम्भीर छलफल नचले पनि उनीसँग निकट रहेका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा आफ्नो चुनावी क्षेत्र वामदेवलाई छाड्न तयार भएका थिए । ७ देखि १४ भदौसम्म जिल्ला घुमेका बुढाले मतदातासँग साक्षात्कार गर्दै भदौ दोस्रो साता सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरे । तर, मतदाताले राजीनामा नदिन दबाब दिएपछि तत्कालका लागि पछि हटे । काठमाडौंमा रहेका डोल्पाली युवाले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिन थप दबाब दिए । उनीहरूले राजीनामा दिए मत बहिष्कार गर्नेसम्मको धम्की दिएकाले बुढा तत्काल निर्णय नगर्ने मुडमा पुगे । यद्यपि, दसैँअघि चुनाव सम्भव नभएकाले माघपछि वामदेवका लागि डोल्पा छाड्न तयार रहेको बुढाले निकटस्थहरूलाई बताउँदै आएका छन् ।













कर्मसञ्चार । २०७५ भाद्र ३१ गते आइतवार