सुर्खेत–जुम्ला हवाई सेवा सुरु

चार हजार भाडा , मंगलबार र शुक्रबार उडान हुने

सुर्खेत, २७ भदौ ।
सुर्खेत–जुम्ला हवाई सेवा सुरु भएको छ । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो ।

कर्णाली प्रदेश पर्यटनमन्त्री नन्दसिंह वुढाले आफै चढेर सुर्खेत जुम्लाको हवाई यात्रा आरम्भसहित उद्घाटन गरेका हुन । मन्त्री बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला सुर्खेत उडान भएको बताए ।
पहिलो पटक १८ जना यात्रुले सुर्खेत जुम्ला र १० जनाले जुम्लाबाट सुर्खेत यात्रा गरेका समिट एयर जुम्लाका ईन्चार्ज सन्तोजङ्ग शाहीले जानकारी दिए । बुधबारदेखि सुरु भएको हवाई यात्राको भाडादर जुम्लाबाट सुर्खेतका लागि ४ हजार र सुर्खेतबाट जुम्लाका लगि ४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
गो कर्णाली टुर एण्ड ट्राभल्स तथा स्नोल्याण्ड होटल संचालक पार्वती महतका अनुसार हरेक शुक्रबार र मंगलबार उडान हुनेछ । कर्णाली प्रदेशको राजधानी सुर्खेत भएको लामो समयपछि नेपालगंज र जुम्ला उडान सुरु भएपनि सुर्खेत जुम्ला हवाई उडान लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन ।

प्रकाशित मितिः   September 12, 2018 at 8:00 pm 


  • प्रतिक्रिया दिनुहोस्