कालिकोट, २० भदौ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला कालिकोट पुगेका छन् । हुम्लामा मंगलबारदेखि सुरु पर्यटन महोत्सव उद्घाटन गरी बुधबार गृहजिल्ला कालिकोट आएका मुख्यमन्त्री शाहीले सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुखसँगको भेटघाटमा प्रदेश सरकारले यस बर्ष बजेट कार्यन्वयनलाई पहिलो प्राथमिकता दिएको बताए ।
मुख्यमन्त्री शाहीले कालिकोटलाई मुलुककै नमुना जिल्ला बनाउने गरी जनप्रतिनिधि र कर्मचारीहरुले काम गर्न आग्रह गरे । उनले गरिब, विकट र अभावको परिचयले चिनिने कर्णाली प्रदेशलाई धनी, समृद्ध, सम्पन्न प्रदेश बनाउन प्रदेश सरकारले विभिन्न योजनाहरु बनाइरहेको बताउँदै प्रदेश सरकारले यस बर्ष अध्यायन, अनुसन्धान र कानुन निर्माणको बर्षका रुपमा लिइएको बताए ।
अहिलेको संरचना, कर्मचारी व्यवस्थापनको समस्या लगायतका कारण यस बर्ष बजेट कार्यन्वयनमा ठुलो चुनौती रहेको बताउँदै भएको बजेटलाई सफल कार्यन्वयन गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्नेमा उनले जोड दिए ।
नगरपालिका प्रमुख, उपप्रमुख र गाँँउपालिका अध्यक्ष, उपाध्यक्षलाई लक्षित गर्दै भने, ‘तपाईँहरु विकास गर्नुस, बजेट जति सक्दो छिटो खर्च गर्नुस् । विकासका लागि बजेट अभाव भए प्रदेश सरकारसँग माग्नुस’, उनले भने, ‘विकासका लागि बजेटको व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ ।’
मुख्यमन्त्री शाहीले अहिले भइरहेको डोजर आंतकलाई लक्षित गर्दै नागरिकलाई थप गरिब हुने गरी स्थानीय सरकारललाई विकास नगर्न आग्रह गरे । उनले तराईका जिल्लाहरुमा समेत सबै घरहरुमा सडक पु¥याउन नसकिने बताउँदै पहाडी जिल्लामा सबैको घर आँगनमा सडक लान खोज्दा अन्य विपत्ति आउने सक्ने संकेत गरे ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, पर्यटन मन्त्री नन्दसिंह बुढासहितको टोलीसहित कालिकोट पुगेका मुख्यमन्त्री शाहीले भने, ‘स्थानीय सरकारका प्रमुखहरु सचेत हुनुस् । अरुले मुख्यमन्त्रीको जिल्ला हो भन्छन्, केही फरक परिचय दिन आवश्यक छ ।’
प्रकाशित मितिः September 5, 2018 at 7:10 pm


कर्मसञ्चार । २०७५ भाद्र २० गते बुधवार