
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबको पुरुष फुटबल टोली सुर्खेत पुगेको छ । सोमबार सुर्खेत आइपुगेको टोलीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पवन शाहीलगायतले स्वागत गरेका छन् ।
टोलीलाई स्वागत गर्दै सदस्य सचिव चन्दले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामनासमेत व्यक्त गरे । उनले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गरे । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिता मंसिर ८ देखि १५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुनेछ । राष्ट्रिय खेलकुदको मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ ।
राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै विभिन्न प्रदेश तथा विभागीय टोली र खेलाडीहरू सुर्खेत आउने क्रम सुरू भएको छ । योसँगै दशौँ राष्ट्रिय खेलकुदको रौनकसमेत बढ्दै गएको छ ।








कर्मसञ्चार । २०८३ मंसिर १ गते मंगलबार