
दैलेख । दैलेखमा झन्डै एक महिनादेखि प्रमुख जिल्ला अधिकारी छैनन् । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा प्रशासनिक नेतृत्वमा रिक्तता देखिएको छ । प्रजिअ नहुँदा नागरिकका दैनिक काममा कठिनाइ भएको छ । प्रशासन नेतृत्वविहीन भएपछि जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा समस्या भएको हो ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भए पछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले प्रमुख जिल्ला अधिकारी नहुँदा कतिपय दैनिक तथा प्रशासनिक काममा कठिनाइ हुने गरेको बताए । प्रजिअ नहुँदा प्रशासन कार्यालयका २२ कर्मचारीले तलब पाउन सकेका छैनन् । यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम पनि रोकिएको छ ।
विभिन्न कानुनी प्रक्रियाका धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति र दैवी प्रकोपका पीडितहरूले पाउने राहत रकम भुक्तानी पूर्ण रूपमा रोकिएको प्रशासन कार्यालयले जनाएको छ । दैलेख भौगोलिक दृष्टिले संवेदनशील मानिन्छ । कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्ग हुने आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि जिल्लामा निरन्तर प्रशासनिक समन्वयको आवश्यक पर्छ । तर, नेतृत्व नै नहुँदा शान्ति सुरक्षाको अवस्था थप जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ ।







कर्मसञ्चार । २०८३ कात्तिक २० गते शुक्रबार